Uncategorized

आइसफल पदमार्ग:राेमाञ्चक यात्रा

काठमाडौं ।बेनी – जाेमसाेम सडक संचालन भएपश्चात् म्याग्दीबाट मुस्ताङ पुग्ने सातवटा पदमार्ग विस्थापित भईसकेकाे परिप्रेक्ष्यमा पर्यटकलाई लक्षित गरेर म्याग्दीको उत्तरी हिमाली क्षेत्र दहबुकी हुँदै मुस्ताङको लेते पुग्ने धवलागिरि आइसफल पदमार्ग सञ्चालनकाे तयारीमा रहेकाे छ।२०६८सालमा स्थानीय ट्रेकिङ ब्यवसायीहरुकाे संगठन टान र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा म्याग्दीको भगवतीबाट मुस्ताङको लेते जाेड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान गरिएको थियाे भने पर्यटन मन्त्रालय ,पर्यटन कार्यालय पाेखरा लगायत निकायबाट विनियोजन भएकाे बजेटबाट भगवती रुइसेक्षेत्र,पछेत्रापुरी,साेबाङधुरी,दहबुकी,फेदी,सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्ग ट्राक निर्माण गरिएको बुझिन्छ ।                                                                                       सडक विस्तारले गर्दा कालीगण्डकी नदीकाे किनार हुँदै म्याग्दीको बेनी भएर मुस्ताङ जाने परम्परागत पदमार्ग मासिएपछि म्याग्दी र मुस्ताङलाई पदमार्गबाट जाेड्नकाे लागि धवलागिरि आइसफललाइ बैकल्पिक मार्गकाे रुपमा पहिचान गरिएकाे हाे भनि स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।यस पदमार्गले म्याग्दीको पिप्ले,भगवती,बेगरखाेला,दग्राम,चिमखाेला,कुइनेमंगले,दाेबा लगायतका ठाउँको उच्च पहाडी डाँडाकाे धुरीहुँदै मुस्ताङको लेते जाेडेकाे छ।धवलागिरि र अन्नपूर्ण क्षेत्रका दर्जनौं हिमालहरु धेरै नजिकबाट नियाल्न सकिने यस पदमार्गमा डाँफे,मुनाल,कालिज,कस्तुरी ,झारल,नाउर,घाेरल,थार,रतुवा,हिमचितुवा लगायतका जङ्गली पशुपंछी र तीनका बासस्थानलाई समेत यहाँ पदयात्रा गर्नेहरुले अवलोकन गर्न सक्ने देखिन्छ ।                   समुद्री सतहदेखि पाँच हजार पाँच सय २५मिटर उचाइमा अवस्थित धवलागिरि आइसफल पदमार्ग दहबुकी डाँडासंग जाेडिएकाे छ।म्याग्दीको पिप्लेहुँदै मुस्ताङको लेते पुग्नसकिने धवलागिरि आइसफल पदमार्गबाट म्याग्दी र मुस्ताङका दुई दर्जनभन्दा बढी हिमालकाे साक्षात्कार गर्न पाउनुकाे साथसाथै धवलागिरि हिमालबाट हिउँ खसेकाे नजिकैबाट हेर्न सकिन्छ ।                                                    म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले आधारभूतस्तरकाे पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताउनु हुन्छ।उहाँ भन्नुहुन्छ-“रघुगंगाकाे अधिकांश वडालाई समेटेको यस पदमार्गलाइ अौपचारिक र ब्यवस्थित रुपमा संचालनमा ल्याउन विस्तृत परियाेजना प्रतिवेदन (डिपिआर)तयार पारेर पैदलमार्ग बनाइएको हाे।पर्यटन मन्त्रालयबाट प्राप्त २५लाख रुपैयाँ बजेटबाट चिमखाेलाका बासिन्दा जङ्गलकाे अोढारमा बास बसेर पदमार्ग बनाएका हुन्।कुइने मंगलेकाे छहरीबाट आधार शिविर क्षेत्रकाे अक्करे भीरमा पहाड खन्ने,जङ्गल र पाखामा ढुंगाकाे सिंढी चिरेर पदमार्ग निर्माण गरिएको छ।”                                                          यसै सन्दर्भमा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी भन्नुहुन्छ -“धवलागिरि आइसफल पदमार्ग संचालन भएमा स्थानीयवासीकाे आयआर्जन वृद्धि,राेजगारी सिर्जना ,जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा याेगदान पुग्नेछ।पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने-बस्ने सुविधाका लागि निजी क्षेत्रकाे लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जाेड दिएका छाैं।याे पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटककाे संख्या उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ।”

Comment here