Uncategorized

पर्यटनको सँगसँगै मौलिक कृषिजन्य उत्पादनको प्रवर्द्धन गर्नैपर्छ

नेपाल प्राकृतिक रुपले अति नै सुन्दर देश हो।यहाँको हावापानी, कलासंस्कृति, रितिरिवाज र पाहुनालाई स्वागत गर्ने शैली सबै अलौकिक छन्।तर, जतिसुकै सुन्दर र अलौकिक भएता पनि त्यसलाई सुगम बनाउने काम चाहिं हाम्रो नेपालमा हुन सकिरहेको छैन।पूर्वाधार विकासमा हामी शून्य छौं।अहिलेको ग्लोवलाइजेसन युगको ब्यस्त जीवनमा पैसा खर्च गरी सिमित समय छुट्याएर नेपाल घुम्न आउँदाखेरी बाटोको जाम र बिभिन्न अवरोधमैं आफूले छुट्याएको समय सकिएको पाएपछि कतिपय पर्यटक दिक्क मानेर फर्किएको पनि पाइएको छ।त्यसकारण सबैभन्दा पहिले हाम्रा सडकहरुको सुधार गर्नुपर्यो।जहाँ जहाँ भर्जिन ल्याण्ड हो त्यो भर्जिन नै रहनुपर्छ।त्यस्को सेरोफेरोमा पूर्वाधार निर्माण गर्दा उपयुक्त हुन्छ।जस्तो कि राराको कुरा उठाउँदा राराको पेरिफेरि चाहिँ लिजमा नदिउँ, त्यसलाई अलि किनारामा राखुँ र जे छ त्यसैलाई संरक्षण गरेर बचाई राखुँ कंक्रीटले नभरुँ भनेर मैंले बारम्बार भन्दै आएको हुँ।तर, कंक्रीटले नभरुँ भनेर विरोध मात्रै गरेर पनि भएन किनकी त्यहाँ गएकालाई बास बस्ने,खानपीन गर्ने र त्यहाँसम्म जाने-आउने यातायातको सुविधा पनि त त्यत्तिकै आवश्यक छ।त्यसको लागि त्यहाँ ताल क्षेत्रभन्दा बाहिर नजिकमा रहेका ठाउँहरुमा पूर्वाधारको विकास गरुँ भनेर हाम्रो ६नम्बर प्रदेशलाई मैंले सल्लाह दिएको हुँ।

हामीले गरेको पूर्वाधारको विकासलाई हेर्नेहो भने झण्डै १३० किलोमिटरको त्यो बुटवल-नारायणघाटको बाटो ३बर्षदेखि ध्वस्त छ।बनाउनु छ भने कमसेकम २० किलोमिटर तयार गर्दै बनाउँदा सबैलाई सहज हुनेथियो।मेरो भन्नुको तात्पर्य एउटा मापदण्ड निर्धारण गरेर बनाउँ भन्ने हो।डाँडापाखाका पहाडीबाटो त पहिरोले भत्काउने सम्भावना रहन्छ तर तराईका राजमार्गहरुको पनि दुर्गति पाइनुलाई के भन्ने? त्यो बेलाको महेन्द्र राजमार्ग जुन अहिले पूर्व पश्चिम राजमार्ग भनिन्छ त्यो जमानामा बनेको त्यस्तो महत्वपूर्ण राजमार्गको समेत अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन।हाम्रै छिमेकी देश भारतको सन् १९९० को बाटो र अहिलेको नेपालको बाटो हेर्दा उस्तैउस्तै लाग्छ।अहिले ३० बर्षको अन्तरालमा इण्डियाको प्रत्येक राज्यमा बाटोको उच्चस्तरीय सुविधा छ भने हाम्रो चाहिं जीवन नै बाटोको दुरावस्था र ट्राफिक जाम हेरेर नै बित्नेभयो।

पहिले हामी हिन्दूराष्ट्र थियौं।म हिन्दू भनेर अरु जनजातिलाई नकारात्मक दृष्टिले हेर्न खोजेको हैन तर देशलाई के गर्दा बढी फाइदा हुन्छ त्यो नै हेर्ने हो।त्यो भनेको हिन्दूधर्मलाई या हिन्दूधर्म मान्नेलाई मात्र हैन यहाँ बस्ने सबै नागरिकलाई फाइदा हुनेतर्फ हेर्नुपर्यो भनेर हामीले बुझ्नुपर्छ।भारतको धेरै नजिकको नेपाल जुन भारतको टाउकोको रुपमा हेरीनुपर्ने देशले सानो गरीब देश भनेर हेपीन परेको छ।जुन देशले यति लामो इतिहास बोकेको छ कि त्यसलाई हामीले सही तरिकाले व्याख्या गर्न नसकिरहेको अबस्था छ। हाम्रा सम्पदाहरु र ती आध्यात्मिक ऋषिमुनीहरु जस्ले यहाँ जन्म लिएका थिए उनीहरुको पहिचान हामीले दिन सकेकानै छैनौं।हाम्रा अमूल्य जडिबुटीहरुलाई हामीले प्रमाणीकरण गर्न नसक्नु हाम्रो कमजोरी हुनगयो।छिमेकी राष्ट्र भारतका बहुसंख्यक हिन्दुहरुको आस्थाको केन्द्र नेपालको धार्मिक धामहरुलाई पहिचान गराउन सकेको भए धेरै कुराहरुले राम्रो हुनेथियो।रिडी,देवघाट र त्रिवेणीलाई हरिद्वार,ऋषिकेशको रुपमा प्रवर्द्धन गरिनु पर्ने थियो।त्यस्तै कर्णालीलाई भारतको अयोध्यामा सरयु नदी भनी सम्मान गरिन्छ तर हामीकहाँ मानसरोवरको राक्षस तालबाट आएको भनी महत्व दिइएन।रामायणकालको बाल्मिकी आश्रम र भृङ्गी ऋषिको तपोवन रेसुङ्गा,स्वर्गद्वारी त्यस्तै कपिल ऋषिको कपिलबस्तु,वेदव्यासको तनहुँ र मैंले सुन्नमा आएकोमा हनुमानले लक्ष्मण बचाउन उठाएको जडिबुटीको पहाड पर्वत जिल्लाजस्ता धार्मिकरुपमा महत्वपूर्ण गन्तब्यहरुलाई हामीले उजागर गर्न सकेको भए विश्वभरका हिन्दू धर्मावलम्बीहरुको आकर्षण ह्वात्तै बढ्ने थियो।साथसाथै भगवान बुद्धको जन्मथलो लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रलगायत बौद्ध परिपथमा पर्यटकीय पूर्वाधारको विकास गर्न सकेको भए चीन लगायत बौद्ध धर्मावलम्बी देशका पर्यटकहरु बढी भन्दा बढी भित्रिने सम्भावना रहन्थ्यो।भारत र चीन दुबै देशका हिन्दू र बौद्ध धार्मिक पर्यटकहरुलाई आकर्षित गर्ने बिशेष प्याकेज दिन सकेको भए मात्र पनि केहि हुन्थ्यो तर त्यो पनि हुन सकेको छैन।

हामीकहाँ आफ्नो मौलिक संस्कृति पनि स्थापित हुन नसकेकै हो।हाम्रा पुर्खाले पहिचान गरेका रैथाने खाना,कला,संस्कृति जुन थियो त्यसैलाई अनुसरण गर्दै चितवन सौराहामा रहेका सिमित थारु जातीले आफ्नो कलाकृति,संस्कृति,रितिरिवाज र रैथाने खाना पर्यटन बजारमा बेचेर सम्पन्नशाली भएका छन्।हेर्ने हो भने मिथिलाको आफ्नै मौलिक संस्कृति छ तर ओझेलमा परेको छ भने पहाडीयाहरुको आफ्नै अलग मौलिक संस्कृति,चाडपर्व आदि छन् तर त्यो पनि राम्ररी उजागर हुनसकेको छैन।हामी नेपालीहरुले तँ मधिसे,तँ पहाडी,तँ फलानो ढिस्कानो भनेर एक आपसमा होच्याउने संस्कारलाई प्रश्रय दिंदै आयौं तर हामी भित्रको कला संस्कृति र खानपानलाई कहिल्यै पनि साटासाट गर्न खोजेनौं र पर्यटनको माध्यमबाट यसबाट फाइदा उठाउन सकिन्छ भनेर बुझ्ने प्रयत्नसम्म पनि गरेनौं।दूर्भाग्य नै भनौं यसलाई राजनीतिकरण बढि गरियो र ध्वस्त पार्ने काम मात्र भयो।

ऐतिहासिक आर्किटेक्ट इन्जिनियर अरनिकोको देश नेपाल ! उनले तिब्वतको अलावा चीनको राजधानी बेइजिङमा बनाएको ह्वाइट प्यागोडा अझै चिनियाहरुले सम्मानकासाथ संरक्षित गरेर राखेका छन् तर हाम्रो नेपालमा उनले बनाएको भनेर देखाउने चिज कहिंकतै पनि संरक्षित पाइएको छैन।अर्को कुरा हामीले खाना पस्किंदाखेरी नेपाली भनेर पस्किने कि इण्डियन भनेर पस्किने भन्नेमा नै हामी कन्फ्युज छौं।हाम्रो मौलिक खानाहरु ख्वै त ?हामीले उत्पादन गर्ने खानाहरु विस्तारै विस्तारै लोप भइसक्यो।हामी सानो देश धेरै परिमाणमा उत्पादन गर्न सक्दैनौं तर बहुमूल्य जडिबुटी र आफ्नो मौलिक खाना उत्पादन गर्नसक्छौं।विषादिरहीत अर्गानिक जडिबुटी र खाद्य पदार्थ हामीले विदेशमा निर्यात गर्न सक्ने हो भने पर्यटनको सँगसँगै हाम्रो मौलिक कृषिजन्य उत्पादनको अन्तर्राष्ट्रिय पहिचान हुनेछ भनेर मैंले धेरै ठाउँमा भन्दै आएको छु।यसलाई प्रवर्द्धन गर्नैपर्छ।

लक्ष्मण न्यौपाने                                                        अध्यक्ष                                                                      सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.

Comment here