Uncategorized

पर्यटनमा भौतिक पूर्वाधार निर्माण,विकास र व्यवस्थापनको खाॅचो छ

नेपालको पर्यटनको इतिहास करिब साठी बर्षको छ।यसबीचमा समयानुकूल हिसाबले पर्यटनको विकास जति हुनुपर्थ्यो त्यतिभने हुनसकेको छैन।पर्यटन प्रबर्धन गर्नका लागि आबश्यक पूर्वाधारहरु निर्माण गर्नु प्राथमिकतामा पर्दछ।भर्खरै केही दिन  अघिमात्र नेपाल पर्यटन बोर्डले अमेरिका क्यानाडा र ब्राजिलमा रहेका नेपाली राजदूतहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो।सो कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आबश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्नेगरी पर्यटकीय गन्तव्यको बिकासमा लागेको बताउनु भएको थियो ।उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले अघि सार्नुभएको भावी योजनाको स्वागत गर्दै नेपालको पर्यटन क्षेत्रबारे आफ्नो अनुभव र  धारणा ब्यक्त गर्दैछु।

अन्तराष्ट्रिय जगतमा नेपाल भनेर चिनाउने नै प्रथम त हाम्रा पहाड -हिमाल हुन् ।त्यसपछि ती पहाड-हिमालमा हुर्केका संस्कृति रितिरिवाजहरू हून्।काठमाडौं उपत्यकाको कलाकौशल उत्कृष्ट स्थानमा रहेको वास्तविकता त छँदैछ।यी सम्पदा र प्राकृतिक सौन्दर्यता नै नेपालका मुख्य पर्यटन बस्तुहरु हुन् र  यी वस्तुहरुको बिषयमा चर्चा गर्नुपर्दा एउटा तितो सत्य के हो भने सन् 1970 देखि आज 2021 सम्म आइपुग्दा ती वस्तुहरुको विविधीकरण गर्न नसक्नु हाम्रो मुख्य कमजोरी सावित भएको छ।काठमाडौं उपत्यकाको ‘ थ्री सिटी टूर ‘ मा आजसम्म स्थायी बासिन्दाले न त आफ्नो लोपोन्मुख संस्कृति ब्यवस्थित तरीकाले देखाउन सके न त कुनै पर्यटन निकायहरु वा ब्यवसायीहरुले केही नयाँपन ल्याउन वा थप्ने प्रयास नै गरे! तर,ती वस्तुहरुको प्रवर्द्धन ‘ वास्तविक पर्यटन वस्तुमा ‘ गर्नभने चुके!! साहसिक पर्यटनमा गरिने ट्रेकिङ ब्यवसायमा पनि उही नियति हामीले ब्यहोर्नु परिरहेको छ।फरक यति छ कि केहि लोकप्रिय ट्रेकहरु त्यसबेला भन्दा भिन्न ढाँचामा क्याम्पिङको सट्टा चिया पसलबाट रुपान्तरित गेष्ट हाउस र लजहरूमा बस्ने ब्यबस्था भएको छ।लुम्बिनीको कुरा गर्दा पनि कुनै भिन्नता छैन ।त्यहाँ पनि यतिका बर्षसम्म एक दिन बाहेक पर्यटकहरुको बसाई लम्ब्याउन आकर्षक वस्थुस्थिति निर्माण गर्न नसकेको तथ्य छ।समग्रमा भन्नुपर्दा जति पनि परिचित पर्यटकीय वस्तुहरू छन् तिनीहरुको विविधीकरण गर्न आबश्यक छ।

पर्यटनका हरेक विधामा सम्भावनाहरु प्रचुर छ।प्राकृतिक सास्कृतिक ऐतिहासिक आदि सबैमा नेपालको अन्य कुनै देशहरुसित तुलनै हुनसक्तैन।यो भनेको प्रकृतिले दिएको देन हो।अब यी पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न,ब्यवस्थापन गर्ने र तिनलाई उपभोग गर्ने सवालमा जुन मानब निर्मित पूर्वाधारको आबश्यकता पर्दछ त्यो चाहिँ एकदमै सिमित मात्र बिकास भएको पाइन्छ ।जति भएको छ त्यो पनि निजी क्षेत्रको प्रयासबाट मात्रै भएको छ र ती भएका पूर्वाधार बिकासमा पनि पुरातात्विक कला संस्कृतिको बेवास्ता गरिने गरिएको पाइन्छ ।नेपाल सरकारको तर्फबाट पर्यटन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण,विकास र ब्यवस्थापन नगन्य मात्रामा भएको पाइन्छ ।यस कारणले गर्दा निजी क्षेत्रको पहुँच नपुगेको ठाउँहरु जुन राजधानीभित्र पनि र बाहिर पनि छन् र प्रसस्त पर्यटकीय सम्भावना बोकेको हुँदाहुँदै पनि साधन स्रोत र उपयुक्त प्रचारप्रसारको अभावमा प्रयोगहीन भएर थन्किएका छन् ।नेपालको आर्थिक समृद्धिको लागि बाहिर कतैबाट सहयोग र आयात केही नगरी आफैले गर्न सकिने भनेको पर्यटन क्षेत्र मात्र हो।आफ्नो साधन स्रोत र जनशक्ति प्रयोग गरी पर्यटनको बृहत विकास गर्न सकियो भने समृद्धिको लागि पर्यटन पहिलो नम्बरको खम्बा हो ।

सन्तोष पाण्डे

अध्यक्ष,पश्चिम ठमेल पर्यटन परिषद

Comment here