Uncategorized

फेवातालमा डुङ्गा सञ्चालन शुरु

काठमाडौं । पर्यटकीय केन्द्र पोखराको फेवातालमा डुङ्गा सञ्चालन शुरु भएको छ ।दोस्रो लहरको कोभिड संक्रमण रोकथामका लागि गत बैशाख 14 गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण बन्द भएको डुङ्गा ब्यवसाय सोमबारदेखि सञ्चालनमा आएको हो ।डुङ्गा सञ्चालनमा आएपछि निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र ब्यवसाय शुरु भएपछि उत्साहित भएको डुङ्गा चालकहरुको भनाई पाइन्छ ।कोरोनाको महामारी भन्दाअघि यस्तो संकट पहिले कहिले परेको थिएन ।परिबार पाल्नै समस्या भएको अवस्थामा अब बिस्तारै चहलपहल बढेपछि आफूहरु खुशी भएको उनीहरू बताउँछन् ।यात्रु कम हुँदा डुङ्गाको पालो आउन गाह्रो छ,पहिलेजस्तो आम्दानी अहिले नभए पनि ब्यवसाय संचालन हुँदा आफूहरुमा जाँगर पलाएको उनीहरु सुनाउँछन् ।पर्यटन ब्यवसाय पहिलेकै अवस्थामा फर्किने उनीहरुको बिश्वास छ।फेवातालमा 764 डुङ्गा रहेकामा बाराहीघाटमा मात्र 300छन् ।

फेवा डुङ्गा ब्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा ब्यवसाय संचालन शूरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको जानकारी दिनुभयो ।भीडभाड हुन नदिन 20 फुटे डुङ्गामा चार र 18 फुटेमा तीनजना राखेर सञ्चालन गरिएको छ जवकी यसअघि आठ/नौ जनासम्म राख्ने गरिएको थियो भनी उहाँ बताउनु हुन्छ ।यात्रुको चाप न्यून रहेको अहिलेको अवस्थामा दैनिक आठदेखि नौ डुङ्गा मात्र संचालनमा ल्याई फेवातालमा डुङ्गा सञ्चालन शुरु भएको छ भन्ने सन्देश दिनकोसाथै निषेधाज्ञाबाट प्रभावित मजदुरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौं भनी उहाँ स्पष्ट गर्नुहुन्छ ।

तालमा डुङ्गा सञ्चालन भएपनि प्रसिद्ध तालबाराहीको मन्दिर भने खुलेको छैन ।मन्दिरमा दैनिक साँझमा गरिने आरती समेत अहिले बन्द छ तर डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने भने गरिएको छ।निषेधाज्ञा जारी रहेको र पर्यटन ब्यवसाय अहिले पनि ठप्प नै रहेकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा संञ्चालनमा ल्याइएको समितिले जनाएको छ।सम्भावित संक्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको समितिले स्पष्ट पारेको छ।

Comment here