Uncategorized

यस पर्यटकीय गन्तव्यको प्रवर्द्धनबाट साझेदारीमा विकासका ढोका खुल्नेछन्

रुकुम (पूर्व) र बागलुङ जिल्लाको सिमानामा पर्ने समुद्री सतहदेखि ३७९० मिटरको उचाईमा रहेको बुकी पाटनको बीच भागमा उभिएको “पूजा खै” मनोरम भू-दृश्यावलोकन गर्नका लागि आफैमा एक भ्यू टावर हो जहाँ कुनै कृत्रिम भ्यू टावरको आवश्यकतानै छैन।मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत रुकुम (पूर्वी भाग) जिल्ला भूमे गाउँपालिका वडा नं.१को रानीवासा र बागलुङ जिल्ला र रुकुम (पूर्वी भाग) जिल्लाको सिमाना यिरनेटाको उत्तरी भागमा पर्ने अग्लो डाँडाको नाम “पूजा खै” हो।पूजा खै ढोरपाटन हुँदै रुकुमतर्फ बग्ने उत्तरगङ्गा खोलाको किनारमा पर्ने निसेल ढोरको कुँदेबाट दक्षिणतिर देखिन्छ। प्राकृतिक रुपमा अग्लो स्थानमा रहेकाले पूजा खैबाट उत्तरतर्फ धौलागिरी हिमाल,प्रथा हिमाल,फागुने लेक सिधा अगाडी १८० डिग्रीको कोणमा देख्न सकिन्छ।साथै त्यहाँबाट ढोरपाटन उपत्यका,निसेल ढोरलगायत बागलुङ र रुकुम (पूर्व) का बिभिन्न ठाउँहरू समेत राम्ररी देख्न सकिन्छ। दक्षिणतर्फ रोल्पाको बहुचर्चित धार्मिकस्थल जलजला,रूकुम(पूर्व) र रोल्पाको सिमानामा अवस्थित तिलाचन दह र सो वरपरको भूभाग,बागलुङ,म्याग्दी,रोल्पा,रुकुम (पूर्व) तथा रुकुम (पश्चिम) जिल्लाका विभिन्न भूभागहरु देख्न पाइन्छ।

पूजा खैको श्रृंखलामै रहेका चमेली खर्क,ढुसे खर्क,ऐसेलु खर्क,खाली खर्क,बुकी पाटन पनि पूजा खैसँगै घुम्न र रमाउन सकिन्छ।पहाडको चुचुरामा रहेका ढुङ्गाका विभिन्न अद्भूत आकृतिले बनेको नेचुरल रक गार्डेन (प्राकृतिक ढुङ्गे बगैंचा) मा रमाउन सकिन्छ।बुकी पाटनमा फुलेका रङ्गी – बिरङ्गी बुकी फूल र तिनका बास्नाले जो कसैको मन उद्वेलित गरिदिन्छन्।बसन्त ऋतुमा बुकीको तल्लो भागमा विभिन्न प्रजातिका थरिथरिका लेकाली गुराँसको फूलले ढपक्क ढाकिएको देख्न सकिन्छ। ग्रीष्म र बर्षा ऋतुमा पूजा खै श्रृंखला वरपर गाई,भैंसी,भेडा,बाख्रा,घोडा र खच्चरको हुलै हुलले भरिएको हन्छ।तसर्थ यस क्षेत्रमा प्रकृति,पशुपंक्षीका साथै मौलिक परम्परागत गोठालो जीवनशैलीसँग राम्ररी साक्षात्कार गर्न सकिन्छ।साथै बागलुङको निसी,भल्कोट त्यस्तै रुकुम (पूर्व ) को लुकुम,काँक्री,तकसेरा र रोल्पाको थवाङलगायतका मगर संस्कृति र जीवनशैली पनि बुझ्न सकिन्छ।नेपालको राजनैतिक परिवर्तनका क्रममा १० बर्षे जनयुद्धमा जनमुक्ति सेनाको तालिम केन्द्र, युद्ध अभ्यासका ट्रेन्चहरुको अवशेष र गुरिल्ला पदमार्गको पनि अध्ययन अवलोकन गर्न सकिन्छ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको सहज पहुँचसँगै यिरनेटा,रिगल दह र तिलाचन दह वरपर प्रकृतिसँग रमाउने मानिसहरुको चहलपहल निकै बढेको छ।यससँगै आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्न अन्य सम्भावित थप गन्तव्य र पर्यटन पूर्वाधारको विकास तथा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता बढेर आएको हुँदा प्राकृतिक भ्यू टावरको रुपमा रहेको पूजा खैको भूमिका र महत्व विशेष छ।उक्त प्राकृतिक भ्यू टावरबाट मध्यपहाडी पुष्पलाल लोकमार्गको हिरवेटा वरिपरि घुम्ने पर्यटकहरुले हिमाल,ढोरपाटन,बुकीपाटन,रङ्गी बिरङ्गी फूल,गोठालो जीवनशैलीको अवलोकन र अध्ययनमा रमाउन पाउनेछन्।साथै जनयुद्धकालीन जनसेनाको तालीम केन्द्र,अभ्यासस्थल र नजिकमा रहेका ऐतिहासिक मगर बस्ती तथा गुरिल्ला पदमार्ग समेत रहेका कारण यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेर जाने प्रसस्त सम्भावना रहेका छन्।त्यसैले यस क्षेत्रलाई योजनावद्ध तरिकाले व्यवस्थित रुपमा विकास गर्नका लागि बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र रुकुम (पूर्व ) को भूमे गाउँपालिकाका सरोकारवालाहरुको अपनत्व कायम गरिने गरी योजना बनाएका छौं र सो कार्यान्वयनको क्रममा रहेको छ।पूजा खै क्षेत्रमा पुग्नका लागि चालु आर्थिक बर्ष २०७८/०७९मा भूमे गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा मध्यपहाडी पुष्पलाल लोकमार्ग देखि रानीवासा-कुइपा पर्यटन सडक निर्माण हुँदैछ। पर्यटन सडकसँगै कुइपाबाट पूजा खैसम्म पुग्न पैदल मार्गलाई व्यवस्थित र सहज बनाउने र पूजा खैको प्राकृतिक भ्यू टावरबाट दृश्यावलोकन गर्न व्यवस्थित पार्क निर्माण गर्नुपर्नेछ।चमेली खर्क,पूजा खै,ढेसे खर्कको बुकी पाटनमा साइकिलिङ्ग गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्दछ।पूजा खैबाट एक रात बास बसी समुद्री सतहदेखि ३९९७मिटरको उचाइमा रहेको चौरी खर्क सहजै पुग्न सकिने र त्यहाँबाट अझ धेरै भू-दृश्यावलोकन गर्न सकिने भएकाले उक्त क्षेत्रमा प्रकृतिलाई नविगार्ने गरी क्यामाफ्लज किसिमको बासस्थलको निर्माण पनि गर्नुपर्ने देखिन्छ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपास भएकाले उक्त क्षेत्रको व्यवस्थित र सहज पहुँचको विकासका साथै आवश्यक पर्यटन पूर्वाधार र प्रभावकारी प्रचारप्रसार भएमा पर्यटकीय गतिविधिमा बृद्धि भई बागलुङ बुर्तिवाङ,निसीखोला र रानीवासा,रुकुम,काँक्री,खावाङ, रुकुमकोटको होटल,ब्यवसायी र स्थानीयलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ हुनेछ।पोखरामा घुम्न आउने पर्यटकका लागि पर्वत,बागलुङका साथै ढोरपाटन,पूजा खै,रुकुम, थवाङ,महत,कमलदह,रुकुमकोट,चुनवाङ,स्यार्पूदह,जाजरकोट र सुर्खेतसम्म समेत थप गन्तव्य बन्नसक्छ।पर्यटन तथा होटल व्यवसायमा बृद्धि हुँदा स्थानीय तहहरुको आन्तरिक आयमा बृद्धिका साथै अन्तरपालिकाको सम्बन्ध पनि थप प्रगाढ भई साझेदारीमा विकासको अवधारणा तथा विकासको ढोकाहरु खुल्नेछन्।पर्यटकको आगमन बढ्दै जाँदा होटल,रेष्टुरेण्ट,रिसोर्ट, ट्राभल एण्ड टुर्स तथा अन्य विविध ब्यवसाय सञ्चालनमा आएपछि निजी क्षेत्रको विकास भई रोजगारीको सिर्जनाका साथै स्थानीय उत्पादनको बजारीकरणको समेत बढ्नेछ।जङ्गलमा पाईने च्याउदेखि गोठालाका दुध,दही,घ्यू र राडीपाखीलगायत स्थानीय उत्पादनले बजार पाउने र स्थानीयहरु स्वरोजगार हुनेछन्।स्थानीय भाषा संस्कृतिको संरक्षण,प्रवर्द्धन तथा प्रचारप्रसार भई संस्कृतिको पुस्तान्तरण र हस्तान्तरणमा समेत टेवा पुग्नेछ।

नेपालको आर्थिक बृद्धि र विकासका लागि योगदान गर्ने तुलनात्मक लाभको क्षेत्र पर्यटन भएकाले समग्र नेपालको पर्यटन विकासमा योगदान दिन,पर्यटकहरुका लागि व्यतित गर्ने समय र मनोरन्जनका लागि नयाँ गन्तव्यको पहिचान तथा पर्यटकीय क्षेत्रहरुको अन्तरआवद्धतामा समेत पूजा खैको विकासले योगदान दिनसक्ने भएकाले उक्त क्षेत्रको व्यवस्थित विकासका लागि सबै सरकारी निकाय तथा निजी क्षेत्रले संयुक्त रुपमा लगानी तथा योगदान गर्न तथा सीमा क्षेत्रका पालिकाहरुबीच आपसी समन्वय र सहकार्यको आवश्यकता समेत देखिन्छ।

– रामसुर बुढा मगर                                                     अध्यक्ष                                                                     भूमे गाउँपालिका (रूकुम पूर्व)

Comment here