Uncategorized

यो हप्ता भित्रमा सीसीएमसीले सिफारिस पठाएन र क्याबिनेटले निर्णय गरेन भने हामी सिंहदरबार घेराउ गर्न जाँदैछौं

म नुवाकोटबाट पढ्नको लागि काठमाडौं आएको मान्छे,ठमेलतिर गोराहरु ट्रेकिङ -याफ्टिङ गएको देख्दा अङ्ग्रेजी बोलेको देख्दा आफुलाई पनि अङ्ग्रेजी बोल्न पाए हुन्थ्यो जस्तो लागेर आउँथ्यो ।बुबाले दिएको खर्चले काठमाडौंमा पढ्न खानबस्न नभ्याउने भएपछि ट्राभल एजेन्सीमा काम गर्न थालें ।ट्रेकिङमा पनि काम गरेँ र -याफ्टिङमा पनि १बर्ष काम गरेँ ।बिचमा दिक्क लागेर गाउँतिर स्कूलमा अंग्रेजी टीचर हुन गइयो ।बीरगंजतिर जागिर खान पनि पुगियो।सन् १९९५मा स्नातकोत्तर उत्तिर्ण गरेपछि शिक्षण पेशामा लाग्ने कि पर्यटन क्षेत्रलाइ नै आफ्नो कर्मथलो बनाउने भन्ने द्विविधाबीच आफुले पर्यटन क्षेत्रमा काम गरिसकेको अनुभवका कारण मैले पर्यटन क्षेत्रलाइ नै रोज्न पुगेको हुँ।सन् १९९६फेब्रुअरीमा सि एण्ड स्काई टुर्स एण्ड ट्राभल्सको स्थापना गरेको हुँ।छ हजार मिटर उचाईको ट्रेकिङमा २बर्ष काम गरेँ ।कालापत्थर,एभरेष्ट क्याम्प धेरै पटक पुगेको अनुभव छ।म आफुले देखेको,प्रयोग गरेको ठाउँ लगायत होटल र साधनहरुको प्रयोग गरिनेगरी टुर बिक्री गर्ने गर्दछु ।आफु नगएको ठाउँको टुर बेच्दिन।मेरो भन्नुको तात्पर्य आफ्नो कार्यक्षेत्रको बारेमा सबै कुरा थाहा हुनुपर्छ अनि मात्र दिएको सर्भिस परफेक्ट हुन्छ ।चिनियाँ पर्यटकहरुसँग टुरमा जाँदाजाँदै उनीहरुको भाषा बोल्न र सुन्न सिकेको हुँ।नाट्टामा सदस्यता लिएपछि नाट्टाको बोर्डको सदस्य,कमिटी चेयरम्यान,महासचिव,उपाध्यक्ष हुँदै जनवरी २०२०बाट अध्यक्ष पदमा कार्यरत छु ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)सन् १९६६मा शुरु भएको रहेछ ,त्यो मेरो जन्मबर्ष पनि हो ।केहि ट्राभल एजेन्सीका साहुजीहरु अम्बिका श्रेष्ठ,आर आर पाण्डे,टेकचन्द पोखरेललगायत पर्यटनका दिग्गज हस्तीहरु भनौँ वा गुरुहरु भनौँ वा अग्रजहरु भनौँ उहाँहरुले शुरु गर्नुभएको रहेछ ।अहिले नाट्टाको अफिस रहेको नक्साल गैरीधाराको गोमा गणेश मन्दिर परिसरमा त्यसबेला उहाँहरुमध्ये एक जनाले आफ्नो ट्राभल एजेन्सीको लागि अफिस बनाउन जग्गा किन्नु भएको रहेछ ।तर,त्यो साँघुरो भएपछि त्यहाँ नाट्टाको अफिस बनाउनु भएको रहेछ ।अहिले त्यो पुरानो भवनलाई रेनोभेसन गरेर नयाँ बनाइएको छ।नाट्टाको लगानी नगरीकनै २२/२४लाख बाहिरबाटै चन्दा संकलन गरेर बनइएको हो ।म पर्यटनमा ब्यवसायी भन्दा पनि एक्टीभिष्टको रुपमा काम गर्न रुचाउँछु ।

हाम्रो पर्यटनमा अर्को असाध्यै खड्किएको कुरा भनेको दक्ष जनशक्तिको अभाव हो ।यस बारेमा नाथम गम्भीर भएर लागेको छ।म अहिले नाट्टाको अध्यक्षको हैसियतले नाथमको पदेन बोर्डको सदस्य छु।मेरो अनुभवमा नाथम मात्रै एउटा त्यस्तो सरकारी निकाय हो जसले आफ्नो कार्यक्षेत्रमा राजनीति हावी भएर मन्त्रालयको हस्तक्षेप हुन खोज्दा पनि हतास नभई आफ्नो लक्षित कार्य सम्पादन गर्न सक्षम मानिएको छ ।पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने एउटै मात्र सरकारी निकाय नाथम हो ।हाउस किपिङ,-याफ्टिङ,गाइड,ट्रेकिङ गाइड,टुर गाइडलगायत हरेक बिषयको तालिम त्यहाँ हुन्छ ।तर,काठमाडौंमा मात्रै उक्त कलेजमा तालिमका लागि भर्ना खुल्दा ६हजारको आवेदन परेपछि त्यहाँको क्षमता अनुसार ५००जनाले मात्रै भर्ना हुन पाउने भएपछि बाँकी रहेका आवेदकहरुले पढ्न नपाएको समस्यालाई ध्यान दिंदै मसहितका साथीहरु नाथमको बोर्डमा गइसकेपछि काठमाडौं बाहिर पनि नाथमले तालिम केन्द्रहरु खोल्नुपर्छ भनेर निकै मेहनत गरियो ।यसैबीच कोभिडको महामारीले गर्दा बाहिर जान इच्छुक साथीहरु कोहि नभएपछि म आफै नेपालगन्ज,बर्दिबास र बिर्तामोड गएर त्यहाँका साथीहरूको सहयोगमा नाथम कलेजको शाखाहरु खोल्ने काम भयो ।ती सबैमा स्नातक तहको होटल म्यानेजमेन्ट र ट्राभल टुरिजमको पढाइ हुन्छ र अब आउने पुष महिनाबाट क्लास शुरु हुँदैछ ।हामीकहाँ दक्ष जनशक्ति नहुँदा तराईका नेपालगन्ज,भैरहवा,काँकडभिट्टा लगायतका शहरहरुमा रहेका स्टार लेबलका होटलहरुमा जी एम,मेनेजरहरु सबै इण्डियनहरु छन।अब भन्नुहोस् हाम्रा केटाहरु चाहिँ अरब मुलुकहरुमा कुल्लीको काम गर्न जानुपर्ने अनि यहाँचाहिँ दक्ष जनशक्ति भारतबाट ल्याउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर नै नेपालगन्ज,भैरहवा र काँकडभिट्टामा नाथम कलेज खोलिएको हो ।

एउटा महत्वपूर्ण कुरा यो हो कि Visit Nepal-2020ले नेपालभरिको १००पर्यटकीय गन्तव्यहरुको पहिचान चाहिँ गरिदिएको छ।त्यसैगरी कोभिडले हामीलाई च्यालेन्ज पनि ग-यो र राम्रो पाठ पनि सिकाएको छ ।तिमीहरुले आन्तरिक पर्यटकलाई अनदेखा गरेर बिदेशी पर्यटकको डलरको मात्र पछिलाग्यौ अब यतिबेला आन्तरिक पर्यटकको प्रबर्द्धन गर भनेर हामीलाई कोभिडले सिकाएको छ।

सत्यकुरा भन्ने हो भने नेपालमा पर्यटनको विकास आजका दिनसम्ममा जे जति पनि भएको छ त्यो सबै निजी क्षेत्रले गरेका हुन् ।हामी पर्यटन ब्यवसायी आफ्नो देशमा लगानी गरेर भौतिक पूर्वाधार खडा गर्छौं अनि बिदेश गएर पैसा खर्च गरी व्यवसायको प्रबर्द्धन गर्छौं त्यसपछि विदेशीलाई यहाँ घुमाउन ल्याउँछौं र उसलाई पूर्ण सन्तुष्टी दिन्छौं ।पर्यटन प्रवर्द्धनको लागि भनेर पर्यटन बोर्ड खडा गरिएको छ तर त्यहाँ राजनीतिक हस्तक्षेपले काम गर्नसक्ने वातावरण बन्न नदिएको पाइन्छ ।नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक भएकोले त्यसलाई सरकारको निगरानीमा राखिनुपर्छ तर अहिलेको ब्यवस्थापनले त्यो चल्न सक्दैन ।ब्यवस्थापनको जिम्मा कम्तीमा ५बर्षको लागि सिंगापुर एयरलाइन्स,लुफ्ताजा,जाल जस्ता सफल एयरलाइन्सका मान्छेहरुलाई ल्याएर दिनुपर्छ भनी हामीले २०बर्षदेखि भन्दैआएको हो।मुख्य कुरा नेपाल सरकारले आफ्नो गुरुयोजनामा नै पर्यटनको बिकास कहाँ र कसरी गर्ने भन्ने बारेमा एउटा छुट्टै योजना ल्याउन पर्यो।अमेरिका,युरोपबाट फर्किएर कम्प्युटर पावर प्रिजेन्टेसन गर्न जानेका बिज्ञ भनाउँदाहरुबाट अबको पर्यटन चलायमान हुन सक्दैन ।सरकारले योजना बनाउँदा नै निजी क्षेत्रमा ३०/४०बर्षको अनुभव बटुलेका बिज्ञहरुलाई सहभागी गराइ योजना बनउने हो भने निजि क्षेत्रमैत्री योजना बन्नुको साथसाथै कार्यान्वयनमा सहजता हुनजान्छ ।अब काठमाडौं,पोखरा,चितवन,नगरकोट र बन्दीपुर जस्ता गन्तब्यहरुले मात्रै पुग्दैन ।कमसेकम अहिले सातवटा प्रदेशमा सातवटा हिल स्टेशन बनाउँदा ठिक होला भन्ने डा•धनञ्जय रेग्मी र मेरो धारणा हो ।समानुपातिक वितरण र त्यो वितरणको लागि बाटो,बिजुली र पानी यी तिनवटा चिज बनाइदिने हो भने ७७वटै जिल्लामा पर्यटनको बिकास हुनसक्छ ।

नेपाल पर्यटन बोर्डका सिइओ डा •धनञ्जय रेग्मी अलि बढि एक्सन ओरिएन्टेड हुनुहुन्छ त्यसैकारणले उहाँसँग मेरो उठबस मिल्नेगर्छ।हामीले आन्तरिक पर्यटन प्रवर्द्धन (DTRC)भनेर एउटा अवधारणा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईसँग बसेर बनायौं र सो बारे अध्ययन गर्न देश दौडाहामा लाग्यौँ ।निजी क्षेत्रको सुझाव बमोजिम बनाइएको डिटिआरसीले देशभरका पर्यटकीय स्थलहरुको पहिचान गर्ने,उत्पादनमूलक बनाउने,प्रबर्द्धन गर्ने डिजीटल मार्केटिङ गर्ने भन्ने बारेमा हामी अन्तिम चरणमा पुगेका छौं ।नेपालको दूरदराजमा रहेका नेपालीहरुमाझ पनि पर्यटन पुर्याउनको लागि यो डिटिआरसीको जग हाल्ने काम हामीले गरेका छौं ।अब यसलाई सफल कार्यान्वयन गर्नकोलागि पर्यटन मन्त्रालयले,नेपाल सरकारले अझ सम्माननीय प्रधानमन्त्रीज्यूले यस डिटिआरसी मा बिशेष चासो लिनुपर्ने जरुरी भएको छ ।कहाँ कुन ठाउँमा कस्तो प्रकारको भौतिक संरचना बनाउन पर्छ भन्नेबारे हामी निजी क्षेत्रलसित विवरण तयारी अवस्थामा छ।सो लाई कार्यान्वयनमा ल्याउन सरकारको स्वामित्वमा रहेका हिल स्टेशनका जग्गा उपलब्ध गराई बाटो, बिजुली र पानीको भरपर्दो ब्यवस्थापन सरकारले गरिदिनु पर्नेहुन्छ ।त्यसपछि निजी क्षेत्रलाई अब आफ्ना आफ्ना ब्यवसायीक संरचनामा लगानी गर्न आउ र विदेशीलाई पनि ल्याउ भनेर सरकारले विदेशीमैत्री ऐन नियम बनाइ आह्वान गर्नेहो भने हाम्रो पर्यटन क्षेत्रबाट नै देशको आर्थिक समृद्धि हुनेमा ठोकुवा गर्न सकिन्छ ।अहिलेको सन्दर्भमा हामीले पर्यटक खोज्दै दशौं लाख खर्चेर विश्वबजारमा चाहार्नै पर्दैन ।चीन,भारत,भुटानलगायत छिमेकी मुलुकका मानिसलाई मात्रै नेपाल घुम्न ल्याउने हो भने हामीलाई पुग्छ।हामीले भारतीय पर्यटकलाई भित्र्याउन पर्छ किनभने उनीहरू तराईका क्यासिनोमा रमाउँछन् र त्यसपछि रिफ्रेशमेन्टको लागि उनीहरुको परिवारसहित नजिकै रहेको हिल स्टेशनमा पुर्याउनु पर्छ ।हिल स्टेशनको वातावरणबाट मोहित भई उनीहरु हिमाली क्षेत्रको पनि भ्रमण गर्ने चाहना राख्न थाल्छन।

म नाट्टाको महासचिव हुँदा पूर्वाञ्चलमा नाट्टाको अफिस खोल्ने काम गरेँ ,सुदुरपश्चिमाञ्चलमा पनि खोलेँ ।त्यतिबेला प्रदेशहरु बनिसकेका थिइनन् ।गण्डकीमा मात्र नाट्टा थियो ।५नंबर प्रदेशमा साटा थियो त्यसलाई नाट्टा गर्यौं ।अहिले मेरो अध्यक्षकालमा २नंबर प्रदेश र कर्णाली प्रदेशमा नाट्टा खोलेर हामीले नाट्टाको उपस्थिति सातवटै प्रदेशमा जनाएका छौं ।यसै बिषयलाई लिएर डा•धनञ्जय रेग्मीले सरकारले अहिलेसम्म सात प्रदेशमा पर्यटन ऐन बनाउन सकेको छैन भने तपाईंको अध्यक्षकालमा नाट्टाले सातवटै प्रदेशमा आफ्नो कार्यालय खोलिनुले तपाईंको दूरदर्शी सोच जनाउँछ भन्नुभएको स्मरणमा छ।नाट्टाको कार्यालय सातवटै प्रदेशमा खोलिसकेपछि हामीले हिल स्टेशन पनि सातवटै प्रदेशमा बनाउन सकिने गन्तव्यहरुको पहिचान गरिसकेका छौं ।जस्तै-1१नंबर प्रदेशमा श्रीअन्तुडाँडा हुनसक्छ,२नंबर प्रदेशमा सिन्धुलीगढी हुनसक्छ,४नंबर प्रदेशमा घान्द्रुक,घोरेपानी,पुनहिल जस्ता थुप्रै छन् ।५नंबर प्रदेशमा पाल्पा एरिया,६नंबर प्रदेशमा कर्णाली प्रदेश त सबै हिल स्टेशन नै हो।७नंबर प्रदेशमा वडिमालीका,खप्तड उपयुक्त स्थान हो ।

पूर्वमन्त्री स्व•रबिन्द्र अधिकारी र पूर्वसचिव केदार बहादुर अधिकारीले पर्यटनमा केहि गर्न खोज्नुभएको थियो।त्यस्तै पूर्वमन्त्री शरद सिंह भण्डारीको पर्यटनबाट नेपालको आर्थिक बिकासमा कायापलट गर्न सकिन्छ भन्ने गहिरो धारणा रहेको थियो ।नाट्टा र एनटीबीको सेल्समिसन अन्तरगत १०दिनको चीनको भ्रमणमा शरद सिंह भण्डारी पनि हामीसँगै हुनुहुन्थ्यो ।उहाँ हामीसंग पर्यटन बारेमा धेरै कुराहरु सोध्नुहुन्थ्यो सिक्नहुन्थ्यो।केदार बहादुर अधिकारी पर्यटन सचिव हुनुहुँदा हामीले नयाँ पर्यटन ऐन लगभग तैयारी गरेका थियौं,अहिले सुन्नमा आए बमोजिम त्यो पर्यटन ऐन मन्त्रालयमा शुद्धीकरणका लागि गएको छ रे!हाम्रो सुझाव अनुसारको उक्त पर्यटन ऐन जुन अहिले प्रकृयामा छ त्यो लागु हुनुपर्छ ।मुख्य कुरा हिल स्टेशनहरुमा होटल बनाउन सरकारले जग्गा उपलब्ध गराई पूर्वाधारहरूको निर्माण नगरिदिएसम्म हामीले पर्यटनको विकास गर्न सक्दैनौं ।सरकारबाट पूर्वाधारनिर्माणसहित जग्गा उपलब्ध गराई दिने हो भने ब्यवसायीहरुले लगानीकर्ता ल्याउँछन।यसको लागि सरकारले पर्यटनमा विदेशी लगानीमैत्री ऐन कानुन बनाई उस्को लगानीको प्रतिफल सहज रुपमा लिएर जानसक्ने र यहाँ इज्जतकासाथ ब्यवसाय गरेर बस्न सक्ने वातावरण बनाई दिनुपर्छ ।

अहिले हामी पर्यटनका पाँचवटा संगठनका अध्यक्षहरुले पर्यटनका सम्पूर्ण विधाका साथीहरु सँग अघिबढ्ने गरी One voice for Tourism नाम दिएर एउटा टीम बनाएका छौं ।नाट्टा,हान,एनएमबी,आहान,एयरलाइन्स अपरेटरका अध्यक्षहरु र विदेशी लगानीकर्ताहरुको प्रतिनिधि सहितको सो टीमले केहि दिन अघि मात्रै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूलाई भेटेर २२बुँदे सुझाव पेश गरेका छौं ।

हाम्रो देशलाई कर्मचारीतन्त्रले आफ्नो चङ्गुलमा पारेको मेरो बुझाई छ।राजनीतिक नेताहरुलाई मात्रै म दोष दिन्न।यसको उदाहरणका रुपमा सीसीएमसीलाई लिन सकिन्छ ।सीसीएमसीमा अहिले आर्मी,पुलिस र ब्युरोक्र्याटको बोलबाला छ।हिजो इश्वर पोखरेलको मातहतमा थियो पछि केपी ओलीको मातहतमा रह्यो भने अहिले शेरबहादुर देउवाको मातहतमा छ।उहाँहरु जोसुकैको मातहतमा भएपनि हामी ब्यवसायीहरुले सीसीएमसी बारेमा गरेको कुरा सुन्नै चाहनुभएन ।उहाँहरुले एकोहोरो सीसीएमसीमा रहेका कर्मचारीहरुको कुरा मात्रै सुन्ने गरेको पाइयो ।त्यसोहुँदा त्यहाँका कर्मचारीहरुले सीसीएमसीलाई कमाई गरी खाने धन्दा बनाइरहेका छन् ।हामी यसै हप्ताभित्रै पत्रकार सम्मेलन गरेर सीसीएमसीको भण्डाफोर गर्न गइरहेका छौँ ।हामीले केपि ओलीको पालादेखि नै भ्याक्सिनेटेड टुरिस्टलाई आउन दिनुपर्यो,अनअराइभल भिसा दिनुपर्यो,क्वारेन्टाइनमा पर्यटकलाई नराख भनेर कराउँदा कराउँदैमा हैरान भइसक्यौं ।यदि सरकारलाई यो हप्ता भित्रमा सीसीएमसीले सिफारिस पठाएन र क्याबिनेटले निर्णय गरेन भने हामी पत्रकार सम्मेलन गरेर सिंहदरबार घेर्न जाने बारेमा सरसल्लाह गरिरहेका छौं ।यसैगरि पर्यटन बोर्डका पूर्वसिइओहरु दिपक राज जोशी,कर्ण शाक्य,योगेन्द्र शाक्य,बसन्त मिश्र लगायत हामी एसोसिएसनका अध्यक्षहरु समेत १५/१६जनाको कोर ग्रुप समेतले सरकारले अब पनि हाम्रो कुरामा वेवास्ता गरेमा सिंहदरबार घेर्न जानुपर्ने बाध्यता रहेको निर्णय गरेको छ।नेपाल अहिले रेड जोनमा छ जबसम्म नेपाल रेड जोनबाट ग्रीन जोनमा जाँदैन तवसम्म नेपालमा पर्यटक आउन चाहँदैनन् किनकि उनीहरुको ट्राभल इन्स्योरेन्स गर्न इन्स्योरेन्स कम्पनीहरु मान्दैनन् ।सीसीएमसीसँग एउटा सुझाव बिन्ती यो छ कि भ्याक्सिनेटेड टुरिस्टलाई आउन दिनुपर्यो ।जबसम्म भ्याक्सिनेटेड टुरिस्टलाई आउन दिइदैन र क्वारेन्टाइन हटाइदैन तवसम्म नेपालको रेडजोन हट्नेवाला छैन ।यसकारण भ्याक्सिनेटेड टुरिस्टलाई आउन दिएर क्वारेन्टाइन हटाइएको म्यासेज सरकारले आफ्नो वेवसाइटमा राख्नु अति जरुरी भइसकेको छ ।

चिनियाँहरु हामी नेपालीलाई सुनको कचौरा हातमा लिएर तिमीहरु भीख माग्दै हिड्छौ भन्छन् ।त्यो सुनको कचौरा भनेको हाम्रो पर्यटन नै हो ।हाम्रो प्राकृतिक सुन्दरता,हाम्रा सांस्कृतिक चाडपर्वहरु र अतिथि देबो भव भनि हाम्रो पाहुनाको स्वागत गर्ने तरिका नै हाम्रो हातको सुनको कचौरा हो।

– अच्युत गुरागाईं                                                                अध्यक्ष, नाट्टा

Comment here