Uncategorized

रामघाटमा ड्यामसहितको तालले पोखराको सुन्दरताको महत्व अझ बढ्नेछ

नेपालको पर्यटकीय केन्द्रको रुपमा काठमाडौं पछि पोखराको नाम आउँछ ।पोखरालाई प्रकृतिले धेरै मिहिनेत गरेर सुन्दरता दिएको छ।पर्यटकीय हब एवं सौन्दर्य नगरीमा परिपरि घुमफिरको अतिरिक्त माछापुच्छ्रे बेसक्याम्प,अन्नपूर्ण बेसक्याम्प,धम्पुस-घान्द्रुक पैदलयात्रा,पञ्चासे,सराङकोट घुमघाम गर्न सकिन्छ ।यस बाहेक ३०दिन सम्मको रोमाञ्चकारी पैदल भ्रमण पोखरा बाट गर्न सकिन्छ ।बिश्वका१०प्रसिद्ध पैदलयात्राको गन्तव्यहरुमध्ये अन्नपूर्ण पैदल परिक्रमा उत्कृष्ट गन्तव्य मानिन्छ र सो पैदल परिक्रमाको प्रवेशद्वार नै पोखरा हो ।पोखरा क्षेत्रभित्र नदीमा जलक्रिया,डुङ्गा यात्रा,डाँडामाथि प्याराग्लाइडिङ,हिमालमाथि स्काइडाईभ,खोंचमा बन्जीजम्प/स्वीङ आदि पर्यटकीय आकर्षणका उत्पादनहरू रहेका छन् ।तर,पोखराको केन्द्र भागमा रहेको रामघाट क्षेत्र भने उजाड,उराठ र पाखापरेको अवस्थामा रहेको पाइन्छ ।रामघाटमा बिगत १२/१३बर्ष अघि देखिनै गिट्टी बालुवा निरन्तर निकालिरहँदा जमिनको सतह गहिरिँदै गई नयाँबजार क्षेत्रका दुबै तिरका डिलहरु भत्किने अवस्थामा पुगेका छन् ।प्रत्येक बर्ष बर्षायाममा नदीले छेउको भाग कटान गर्छ।रामघाटमा बर्षातको समयमा लाश जलाउन ठाउँ पाउन मुश्किल पर्ने मात्र हैन कि लाशको अन्तिम संस्कार गर्न गएकाहरुलाई खोलाको बाढीले बगाइदिने खतरा समेत भइआएको छ ।घाटमा चर्को घाम/पानीमा ओत लाग्ने छाप्रो समेतको ब्यबस्था छैन भने दिशा पिसाव गर्नुपर्यो भने एउटा शौचालयसम्मको बन्दोबस्त पनि गरिएको पाइदैन ।”रामघाटमा दोहन भयो,ब्यबस्थित हुन सकेन,लास जलाउने ठाउँ सम्म भएन “भनी जनता,पत्रकारहरु र अभियन्ताहरुबाट बिगत १२/१३बर्ष अघिदेखि नै टिकाटिप्पणी/नाराबाजी हुँदै आएकोमा ढिलै भएपनि पोखरा नगरपालिकाले रामघाटमा ड्याम निर्माण सहितको ताल बनाउने परियोजना अघि बढाएको छ ।यस परियोजनाको कार्यान्वयनबाट रामघाटमा क्षेत्रलाई ब्यबस्थित,सुरक्षित र वातावरणीय दृष्टिकोणले सुन्दर बनाउनुको अतिरिक्त पोखराको पर्यटकीय गतिविधिमा वाटर स्पोर्टस् को नयाँ आयाम थपिनेछ ।परियोजनाको एग्रिमेन्टमा सहि भएपछि हाम्रो पहिलो काम नै रामघाटमा ब्यबस्थित शवदाह घाट निर्माण गर्ने,प्रतिक्षालय,ढुङ्गेधारा र सार्वजनिक शौचालयको निर्माण गर्ने जस्ता सामाजिक कार्य हुनेछ ।त्यसपछि मात्र हामी ब्यवसायीक निर्माणमा लाग्नेछौँ ।

पोखरा नेपालको धेरै पानी पर्ने ठाउँ हो।ड्याम बनेपछि गल्छी हरु गहिरिन पाउँदैन।ड्यामको वरिपरि रिटेन्सन वालहरु निर्माण हुन्छ जसले गर्दा प्रत्येक बर्ष ८/१०मिटर वरिपरिका जमिन कटान भईरहेकोमा त्यो रोकिन्छ ।रामघाट सुन्दर ताल क्षेत्रमा परिणतभई पोखराले ८तालको शहरको रुपमा मान्यता पाउँछ ।नयाँबजार क्षेत्रको वातावरणिय सुन्दरता बढ्नगइ तालले शीतलता प्रदान गर्नेछ ।धार्मिक पक्षको कुरा गर्नुपर्दा हिन्दू धर्मसमुदायको मृत्यु संस्कारको शवदाह स्थल ब्यबस्थित बनाइनुले पर्यटकीय केन्द्र पोखरा आएका पर्यटकहरूले काठमाडौंको पशुपति आर्यघाटमा ब्यबस्थित रुपमा शवदाह गरेजस्तै अबस्थामा रामघाटको शवघाटमा हिन्दू धर्मसमुदायको मृत्यु संस्कारलाई हेर्न/अध्ययन गर्न सक्नेछन् ।रामघाटमा सुन्दर ताल बनेपछि कार बोट र बाईक बोटहरू सञ्चालनमा आउनेछन् र यस गतिविधिबाट वाटर स्पोर्टस् को नयाँ आयाम सुरु हुनेछ ।रामघाट नजिकका सुकुम्बासी बस्तीमा ताल बनेपछि पर्यटकीय रेस्टुरेन्टहरु बन्नेछन् ।पोखराको केन्द्रमा रहेको महेन्द्रपुल,नयाँबजार क्षेत्रको वातावरणिय तापक्रममा कमी आउनेछ ।त्यस क्षेत्रका डिलमा रहेका घरहरुको ठाउँमा पर्यटकीय होटलहरू बन्ने छन् ।बजारको केन्द्रबिन्दुमैं ताल बनेपछि त्यस क्षेत्र “लेक हब “बन्ने पक्का छ।यो वातावरणिय सुन्दरता र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम हुनेछ ।

यतिराम्रो परियोजना नगरपालिका आफैले धेरै पहिले नै गरिसक्नु पर्ने थियो ।डेढ अर्ब रुपियाँको यो परियोजना उ आफै एक्लैले गर्न नसकेर नै पब्लिक प्राइभेट पार्टनरसीप रोजेको हो।अहिले नगरपालिकाले रामघाटबाट बार्षिक ६करोड रुपैयाँ राजस्व प्राप्त गरिआएकोमा अब हामीबाट बार्षिक ८करोड रुपैयाँ राजस्व प्राप्त गर्नेछ र यसमा प्रत्येक बर्ष ५प्रतिशतले बृद्धि हुने प्रावधान राखिएको छ।यस बाहेक ढुङ्गा,गिट्टी,बालुवा आदि र पर्यटकीय गतिविधि जुन हामीले गर्छौं त्यसबाट अतिरिक्त ५प्रतिशत राजस्व बुझाउने हामीले कबुल गरेका छौं ।मेरो भन्नुको तात्पर्य नगरपालिकाले हामीले कबुल गरेको बार्षिक राजस्व ८करोड पाउनुको अतिरिक्त हामीले गर्ने पर्यटकीय आदि गतिविधिबाट ७/८करोड थप राजस्व प्राप्त गर्ने सम्भावना छ।

यो सेतीलाई थुन्ने परियोजना हैन किनकी त्यत्रो ठूलो खोलाको बहावलाई थुन्नै सकिंदैन ।५मिटरको ड्याम बन्छ र खोलाको पानी ड्याममा ५मिटर नाघेपछि आफै बगेर जान्छ ।यदि कथंकदाचित हाई प्रेसरको बाढी आयोभने ड्यामको ५मिटर मुनी बनाइएको इमरजेन्सी सेक्युरिटी गेट आफै स्वचालितरुपमा खुल्ने ब्यबस्था गरिएको छ।यसमा कुनै पनि खतराको सम्भावना राखिएको छैन ।त्यसैगरी माइनिङ्गको कुरा गर्नुपर्दा सिंगापुर,मलेसियातिर पानी जहाजमा रहेको सक्सन पम्पले बालुवा तानेर जमिनमा फ्याँक्ने जुन प्रविधि प्रयोगमा ल्याइएको छ हामीले पनि तालमा जमेको गिट्टी बालुवा निकाल्न त्यस्तै सक्सन प्रविधिको प्रयोग गर्छौं ।सो सक्सन मेसिनको मात्रै १४करोड रुपैयाँ पर्दछ ।

रामघाटमा ड्याम निर्माण सहितको ताल बनाउने बारेमा सबै कुराहरु राम्ररी नबुझिकन कुनै कर्नरबाट नकारात्मक प्रचार गरिएकोमा दुःख लागेको छ।स्वर्गीय योगी नरहरि नाथ रामघाटमा नै बस्नुहुन्थ्यो ।उहाँजस्ता बिद्वानले आजभन्दा २५बर्ष अघिनै रामघाटमा ड्याम निर्माण सहितको ताल बनाउँ भन्नुभएको थियो र वर्ल्ड बैंकले समेत यस बारेमा समर्थन जनाएको भन्ने बुझ्नमा आयो।सेती गहिरिनबाट रोक्न,हाल रामघाटमा भइरहेको कटान रोक्न,ब्यबस्थित घाट बनाउन र किनारको सौन्दर्यीकरण गर्न यो परियोजना बैज्ञानीक रहेकोमा कुनै सन्देह छैन ।रामघाटमा ड्यामसहितको तालले पोखराको सुन्दरताको महत्व अझ बढ्नेछ ।

– आनन्द राज बतास

अध्यक्ष, बतास अर्गनाइजेशन

Comment here